ढलेको बिद्रोह

मैले उन्मुक्तिको नारा लाउन
उसै दिन छाडिदिएँ मेरी अामा
जब बुख्याचाहरूको बस्तीमा
तिम्रो चिच्याहट विलीन भयो ।
तिम्रो अस्मिताको लूटमा
यो शहरले खुसी मनाईरह्यो।
अनि
रङ्गीन साँझका लागि ओछ्याइए
तिम्रा कुमारी छोरीहरु
मैले बिद्रोह त्यसै दिन छाडिदिएँ मेरा बा
जब
तिमीलाई कठपुतली बनाएर
रगतको होली मनाए राक्षस हरुले
तिमी उचालियौ र बजारियौ भुइँमा
तमाशेहरुको भिडमा काटियो फेद
टुप्पोमा चडाएर तिमीलाई
उन्मुक्तिको नारा उन्मुक्त हुन
काफी नदेखेपछि
बिद्रोही स्वर न्याय प्राप्तिको
मिसाल नभेटेपछि नै हो
मेरा बा
मैले शालीन र शान्त भएर
तिम्रा प्रत्येक रगतका छिटाहरुको
बदला चाहेको

लाचार बेश्या बनेर पाई पाई हिसाब खोजिरहेछु
तिम्रो अस्मिताको
मेरो भाइको अर्थी उठेको दिन
दाइको चिता बलेको दिन
अनि दिदी बलात्कृत भएको दिन
यो दुनियाँले मनाएको तिहार सम्झेरै हो
मैले युद्ध त्यागिदिएको
रगत उमाल्ने संगीतले
आजकल मलाई छुँदैछुँदैन
मैले उमालेर पोखाउनेहरुको
बस्ती नियालिसकेँ
मौनताको तागत बुझेरै हो
मेरा बा
मैले होहल्ला छाडिदिएको
र प्राप्त गरेको हुँ मोक्ष ।

पिपला ढुङ्गाना, pipala dhungana

Recent Posts

Leave a Comment

Contact Pipala

I hope you enjoy your visit to my webpage. Do not forget to leave your feedback