सदावहार यात्री

अतिक्रमणमापरेको नेपथ्यको

सदावहार यात्री म

मलाई छिचोल्नु छैन कुनै प्रतिस्पर्धा

म्याराथुनकै गतिमा हुँदो हुँ र पनि ।

टुकुचाको गल्लीमा नाक थुनेरै

यात्रा कटाइ रहन्छु

तर

कहिल्यै गन्हाएन मलाई

छेवैमा सेकुवा बेचिरहेकी

आमाको परिश्रम

गन्हाएन कसाइ दाजुको

रगतले लत्पतिएको हात

गन्हायो त केवल एउटा

अन्धाधुन्ध अव्यवस्था ।

डोकोभरि साग बेचिरहेकाहरु

पुल ढाक्ने गरी बसिरहेछन्

कपडा बेच्नेहरुको घुइँचो उस्तै छ

कठ्याङ्ग्रिदो जाडोको वेपर्बाह।

म देख्दैछु परिश्रमीहरु

नाथे गरिबीलाई

कति सजिलै लगाइरहेछन् पाखा

र लडिरहेछन् यो अस्तब्यस्त शहरसँग ।

पोहोर साल उजेली बम्बैमा मरी अरे

गरिबीबाट मुक्ति खोज्न निस्किएकि ऊ

अाफैं मुक्त भई

कुन्नि कति उकुसमुकुसपछि

सपनाको शहरले निल्यो उसलाई

यो साग बेच्दै गरेकी युवती

उजेली भैदिएकी भए।

मन भारी भएर पनि यो उजेली होइन

केवल गरिबी मात्रै मिलेको हो उसको ।

तल्लो गाउँकी चमेलिलाई कुवेत मा

झुन्ड्याइयो अरे कुन्नि कुन बेकसुरमा

त्यो बाटोको कपडा बेच्ने दिदी

चमेली भएर पनि चमेली होइनन् ।

जब रहर लाग्दो सपना काल बनेर

अाँखै अगाडि लमतन्न परि दिन्छ

मान्छे विवश बन्दोरहेछ

अात्मसमर्पण गर्न जिन्दगीसँग ।

विज्ञान विषयको डिग्री बोकेर

खाडी भासिएको रामे

हिजै हो काठे बाकसमा फर्किएको

विद्वान बन्ने सपनाको हत्या भएपछि

मलाई नसोध कसरी चल्दै छौ यो शहरमा भनेर

भ्याइनभ्याई छ मलाई

तमासेहरुको चटक हेरेरै

म नियाली रहेछु एउटा लाचार समय।

ज्याद्रो ब्यवस्था

भावना शून्य बस्ती

मानवता हराएका एक झुण्ड मान्छेहरु।।

Recent Posts

Leave a Comment

Contact Pipala

I hope you enjoy your visit to my webpage. Do not forget to leave your feedback